आँधीखोलामा साहसिक जलयात्रा गरिने

 आँधीखोलामा साहसिक जलयात्रा गरिने

तोलाकान्त बगाले
वालिङ, १ असोज ।
स्याङ्जा जिल्लाको पहिचानकोरुपमा रहेको धार्मिक एवं पौराणिक किंवदन्तीसँग जोडिएको आँधीखोलामा साहसिक जलयात्रा गरिने भएको छ । ‘पहिला देश अनिमात्रै विदेश’ भन्ने मुल नाराका साथ नेपालको संविधान दिवसका अवसरमा वण्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहकार्यमा भीरकोट १ हेलुदेखि वालिङ १३ बायँटारीसम्म जलयात्रा गर्न लागिएको बुधबार वालिङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।

“यस संस्थाको अगुवाईमा विगतका वर्षमा पनि आँधीखोलामा सफल जलयात्रा गरिसकिएको छ” संस्थाका कार्यबहाक अध्यक्ष आशिषप्रताप खाँणले भन्नुभयो, “यसवर्ष संविधान दिवसको अवसरमा असोज ३ र ४ गते आँधीखोलामा सहासिक जलयात्रा गर्ने तयारी भईरहेको छ ।”

पत्रकार सम्मलेनमा दिईएको जानकारी अनुसार वण्डरफूल वालिङ पर्यटन विकास संस्थाले ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ र ‘लुम्बिनी भ्रमण वर्ष सन् २०१९’ लाई लक्षित गरी असोज १७ गते वालिङमा ‘सुरताल साङ्गीतिक भ्रमण २०७६’ गर्ने भएको छ । उक्त कार्यक्रममा समीर घिसिङ (भिटेन), प्रकाश सपुत, बिक्रम बराल, चोलेन्द्र पौडेल, सन्तोष बस्याल, बबी सुनार, आकृति नेपाली लगायतका अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ लाई लक्षित गरी कात्तिक ९ गते ‘वण्डरफूल वालिङ बाईक राईड २०१९’ गर्ने भएको छ । वालिङ नगरपालिकाका ७ वटा वडा र भीरकोट नगरपालिकाका २ वटा वडालाई छुने गरी रुट निर्माण गरिएको कार्यबहाक अध्यक्ष खाँणले बताउनुभयो ।

वालिङ खेलमैदानबाट शुरु हुने ५० किलोमिटरको बाईक ¥याली बाँयटारी, अकलादेवी, सिर्सेकोट मैदान, डुम्रेभञ्ज्याङ, सिरकोट, स्वरेक मैदान, अमले हुँदै वालिङ खेलमैदानमा आएर टुङ्गिने बताईएको छ । गण्डकी प्रदेश, वालिङ नगरपालिका र वण्डरफूल वालिङ पर्यटन विकास संस्थाको संयुक्त आयोजनामा ‘वण्डरफूल वालिङ बाईक राईड २०१९’ गर्ने गरी तयारी गर्न वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सुझाव दिनुभयो ।

“वालिङ तथा आसपासका क्षेत्रमा लुकेर रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं पुरातात्विक महत्वका स्थानहरुको प्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्नका लागि यो अभियान महत्वपूर्ण हुनसक्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब त्यसको तयारीका लागि धेरैभन्दा धेरैलाई सहभागी बनाएर, सबैलाई अपनत्व हुने गरी बढाउन आग्रह गर्दै नगरपालिकाले सहयोग गर्ने र गण्डकी प्रदेश सरकार पनि यस अभियानमा जोडिने गरी अगाडि बढ्नुपर्छ ।”

संविधान दिवसका अवसरमा आयोजना गरिएको सहासिक जलयात्रामा नगरपालिकाले सहकार्य गर्ने र कात्तिकका हुने ‘वण्डरफूल वालिङ बाईक राईड २०१९’ मा वालिङ नगरपालिका र गण्डकी प्रदेशले सहकार्य गर्ने गरी तयारीलाई तिब्रता दिन नगर प्रमुख खाँणले आग्रह गर्नुभयो ।

अभियान अन्तर्गत रुटमा पर्ने विभिन्न समुदायका होमस्टेहरुमा सांस्कृतिक झाँकीहरु तथा स्वागत कार्यक्रम रहेको संस्थाका सदस्य गणेश राउतले बताउनुभयो । संस्थाले यसअघि आँधीखोलामा सहासिक जलयात्राको संभावना छ भनेर जानकारी दिने उद्धेश्यले जलयात्राको सफल परीक्षण गरेको थियो भने गतवर्ष अन्तर्राष्ट्रिय स्तरको साईक्लिङ प्रतियोगिता पनि गरेको थियो ।

admin

1 Reviews

4

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *