फूल बिक्रीबाट एकलाख आम्दानी

तोलाकान्त बगाले
वालिङ
यहाँका फूल ब्यवसायी प्रकाश डुम्रेले तिहारको समयमा एकलाखको फूल तथा माला बिक्री गर्नुभएको छ । वालिङ ९ भुम्रेमा झण्डै चार रोपनी जग्गा भाडामा लिएर फूल ब्यवसाय गर्दै आएका युवा ब्यवसायी डुम्रेले काग तिहारदेखि भाईटीकासम्मको अवधिमा उक्त आम्दानी गर्नुभएको हो ।

“हामीले माला बनाएर वा फूलका थुङ्गा नै बिक्री गर्छौं” युवा ब्यवसायी डुम्रेले भन्नुभयो, “मालामा ३० देखि ३४ वटा फूलका थुङ्गा गाँसेर बनाईने र त्यसको मूल्य रु. ८० निर्धारण गरेका छौं भने कसैले थुङ्गामात्रै खरिद गर्न आएमा प्रति थुङ्गा रु. २ मा बिक्री गर्ने गरेका छौं ।” हाईब्रिड जातका सयपत्री फूलको ब्यवसायिक उत्पादन गर्दै आउनुभएका डुम्रेले एकपटकमा एउटा बोटबाट तीन देखि चार वटा माला बनाउने गरेको बताउनुभयो ।

“तीन वर्ष अघिदेखि फूल ब्यवसायमा निरन्तर लागेको छु” युवा ब्यवसायी डुम्रेले भन्नुभयोे, “म यो पेशा ब्यवसायबाट पूर्ण सन्तुष्ट छु, आफ्नै गाउँ ठाउँमा मेहेनत गर्न सके अवसरहरु प्रशस्तै छन् जस्तो लाग्छ ।” यहाँ उत्पादन भएका फूलका मालाहरु वालिङमै खपत हुने गरेको छ । कम लगानीमा छिटो आम्दानी लिन सकिने भएकाले पनि उत्पादन गर्न सकेको खण्डमा बजारको समस्या नरहेको युवा ब्यवसायी डुम्रेको भनाई थियो ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *