भीरकोटका ३२ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

वालिङ, ४ चैत ।
यहाँका ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको छ । परम्परागत भन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन बृद्धि गर्न र कृषिमा हुने लागत घटाउने मुख्य उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।
“गाउँघरमा आजभोलि गोरु पाल्ने चलन हरायो, खेताला खोज्दा पाउन छाड्यो” नगर प्रमुख खनालले भन्नुभयो, “हाते ट्रयाक्टरको प्रयोगसँगै कम खर्चमा छिटो छरितो र सहजरुपमा काम हुने भएकाले पनि अनुदानमा हाते ट्रयाक्टर वितरण गरेका हौं ।”
हाते ट्रयाक्टरको सही सदुपयोग गरी ब्यावसायिकतातर्फ उन्मुख हुन नगर प्रमुख खनालले सुझाव दिनुभयो । नगर प्रमुख खनालले भन्नुभयो, “सर्वप्रथम किसानको आर्थिक अवस्था मजबुत बनाउँदै समग्रमा भीरकोटलाई कृषिमा आत्मनिर्भर बनाउनतर्फ लाग्नु जरुरी छ काम गर्दै जाँदा एकदिन अवश्य पनि गन्तब्यमा पुगिन्छ ।”
रु. ५२ हजार पर्ने हाते ट्रयाक्टरलाई नगरपालिकाले ५० प्रतिशत अुनदान दिएको हो भने ५० प्रतिशत किसानले बेहोर्ने गरी ३२ जना किसानलाई हाते ट्रयाक्टर हस्तान्तरण गरिएको उपप्रमुख सीमा केसी कर्माचार्यले बताउनुभयो ।
“भीरकोट कृषिका क्षेत्रमा संभावना बोकेको ठाउँ हो त्यसैले यहाँका खेतबारीहरुलाई बाँझो हुन नदिन र उत्पादनसित जोड्नका लागि सहयोग होस् भन्ने हेतुले हाते ट्रयाक्टर वितरण गरेका छौं” उपप्रमुख कर्माचार्यले भन्नुभयो, “आधुनिक प्रविधिको प्रयोगसँगै कृषिका क्षेत्रमा लागत तथा समय कम लाग्ने भएकाले अपेक्षा अनुसार सफलता मिल्नेमा हामी विश्वस्त छौं ।”
नगरभित्रका ९ वटा वडाबाट माग भई आएका किसानलाई लक्षित गरी हाते ट्रयाक्टर वितरण गरिएको कृषि संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो ।
“यस वर्ष ३२ किसानलाई हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा दिएका छौं” प्रवक्ता केसीले भन्नुभयो, “उहाँहरुलाई चलाउने तरिकाकाबारेमा तालीमसमेत दिएका छौं भने हाते ट्रयाक्टर बिग्रिएमा वा समस्या आएमा प्रत्येक वडामा १÷१ जनालाई मर्मत गर्ने तालीम दिने तयारी भईरहेको छ ।”
हाते ट्रयाक्टरको प्रयोगले कृषिको उत्पादनमा लागत घटाउँछ भने कृषि उत्पादनमा पनि यसले सघाउँ पु¥याउने भानू मेशिनरी पोखराका प्राविधिक कुमार सुबेदीले बताउनुभयो ।
“हामीले हाते ट्रयाक्टर बिक्री मात्रै गर्दैनौं यसको प्रयोग गर्ने तरिकाकाबारेमा किसानलाई आवश्यक तालीम पनि दिन्छौं” प्राविधिक सुबेदीले भन्नुभयो, “स–साना खेतबारीमा तथा ठूला ठूला ठाउँमा पनि यसको प्रयोग बढ्दै गएकाले हाते ट्रयाक्टर प्रभावकारी बन्दै गएको छ ।”

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *