वालिङ नपा जमानी बसेर बैंकमार्फत ऋण दिन शुरु

 वालिङ नपा जमानी बसेर बैंकमार्फत ऋण दिन शुरु

तोलाकान्त बगाले
वालिङ, ८ जेठ ।
नगरभित्रका कृषि तथा पशुपालन ब्यावसायीहरुलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आँफूले गर्दै आएको ब्यावसायमा आर्थिक अभावका कारण ब्यावसायबाट विस्थापित हुन नदिने र थप उर्जा दिनका लागि स्थानीय सरकारकोरुपमा रहेको वालिङ नगरपालिकाले सुरक्षा कवचकोरुपमा जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वालिङ नगरभित्रका १४ वटै वडामा तरकारीजन्य उत्पादन तथा पशुपालनसम्बन्धी ब्यावसायिक कृषकहरु जसले अत्यन्त मेहेनतका साथ उत्पादनमा संलग्न हुँदा हुँदै कोभिड १९ को लकडाउनका कारण परेको असर, अन्य महामारी, दैवी विपत्ति र अन्य विपदका कारणले पेशा ब्यावसायबाट नै विस्थापित हुन नदिनका लागि नगरपालिकाले वालिङस्थित बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगर प्रमुख खाँणले बताउनुभयो ।
“नगरभित्रका १४ वटै वडामा तरकारीजन्य उत्पादन तथा पशुपालन ब्यावसायीहरुलाई पेशा ब्यावसाय सञ्चालनका लागि आर्थिक अभाव भएमा नगरपालिकाको पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “पशु र कृषि शाखाको सिफारिसका आधारमा वालिङस्थित बैंक तथा वित्तीय संस्थाहरुमा वालिङ नगरपालिका धितो जमानी बसेर तत्काल राहतस्वरुप आवश्यक ऋण उपलब्ध गराउँछौं, यस कार्यको थालनी नगरपालिकाले शुरु गरेसँगै ब्यावसायीले ऋण प्राप्त गरिसक्नुभएको छ ।”नगरपालिकाले कृषि तथा पशुपालनमा ब्यावसायिक हितलाई मध्यनजर गर्दै नपा कार्यालय जमानीमा बसेर निश्चित समयका लागि ऋण उपलब्ध गराएको नगर प्रमुख खाँणले बताउनुभयो । तरकारी तथा पशुपालनमा मेहेनतका साथ संलग्न रहनुहुने कृषक तथा पशुपालक ब्यावसायीलाई पेशा ब्यावसाय सञ्चालनका क्रममा अप्ठ्यारो अवस्था आईपरेमा कृषि तथा पशु शाखामा सम्पर्क गर्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभएको छ । वालिङ ९मा अवस्थित जिल्लाकै उत्कृष्ट एवं नमूना बंगुरपालन फर्मकोरुपमा स्थापित ईन्द्रेणी बंगुर पालन फर्ममा लकडाउनका कारण बंगुरका माउ तथा पाठापाठी बिक्री गर्न नपाउँदा राख्ने ठाउँको अभाव तथा दानापानीको अभाव भएपछि नगरपालिका जमानी बसेर उपकार वचत तथा ऋण सहकारी संस्था वालिङबाट रु. १० लाख ऋण उपलब्ध गराएको छ । वालिङ नगरपालिकाले उपकार वचत तथा ऋण सहकारी संस्थालाई ऋण उपलब्ध गराईदिन पत्राचार गरेसँगै सहकारीले ‘सरकारी जमानतमा आपतकालीन ऋण लगानी कार्यविधि’ बनाएर सोही कार्यविधि अनुरुप ६ महीनाका लागि विना धितो दश लाख ऋण उपलब्ध गराएको संस्थाका अध्यक्ष भरतप्रसाद बगालेले बताउनुभयो । “सहकारीले नाफा कमाउनेभन्दा पनि सेवामुखी हुनुपर्छ भन्ने मान्यता अनुसार अहिलेको कोभिड १९ को महामारीमा ब्यावसायीलाई सहयोग गरी प्रोत्साहन दिने हेतुले सहयोग गरेका हौं” अध्यक्ष बगालेले भन्नुभयो । लकडाउनका कारण फर्ममा रहेका बंगुरका पाठापाठीहरु बिक्री गर्न समस्या भयो जसले गर्दा फर्ममा पाठापाठीको संख्या बृद्धि हुँदै जाँदा पाल्नका लागि समस्या उत्पन्न भएर नगरपालिकामा सहयोगका लागि अनुरोध गरेको फर्म सञ्चालक भीम लुईँटेलले बताउनुभयो ।
“नगरपालिका जमानी बसेर ६ महीनाका लागि विना धितो १० लाख रकम प्राप्त भएको छ” ब्यावसायी लुईँटेलले भन्नुभयो, “प्राप्त रकमले बंगुरका पाठापाठी राख्नका लागि खोर तथा दानापानीमा खर्च गर्ने तयारीमा छु ।” नगरपालिका जमानीमा बसेर ब्यावसायीलाई ऋण उपलब्ध गराउनुपूर्व पनि वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी उपलब्ध गराउँदै आएको छ । रकमको अभावमा पेशाबाट विस्थापित हुने अवस्था आउन नदिने र दैनिक विदेशी भूमिमा रोजगारीका लागि जाने युवायुवतीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले बीउ पुँजीको ब्यवस्था मिलाईएको नगरपालिकाले जनाएको छ । बीउ पूँजीका लागि न्यूनतम रु ५० हजारदेखि अधिकतम रु पाँच लाखसम्म अवस्था हेरि उपलब्ध गराईने छ । नगरपालिकाले तरकारी खेती गर्ने किसानका लागि छ महीनादेखि एक वर्ष, पशुपालनका लागि एक वर्ष र फलफूल खेतीका लागि दुई वर्षको अवधि रहने गरी बिना ब्याज बीउ पँुजी उपलब्ध गराउने नगर प्रमुख खाँणले बताउनुभयो ।

admin

0 Reviews

Write a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *